कांग्रेसको नेतृत्व शुक्रबारबाट औपचारिक रूपमा गगन थापाको हातमा आउन लागेको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगन थापाको शपथग्रहण तथा पदबहाली शुक्रबार हुने भएको हो । बडादसैंको फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार अपराह्न २ बजे सभापति थापाको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो । सपथ ग्रहण तथा पदवहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
गतवर्ष भएको विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेका थापाले नियमित महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबारदेखि पार्टी नेतृत्व लिन लागेका हुन् ।
कांग्रेसको वरिष्ठ उपसभातिमा विश्वप्रकाश शर्मा तथा उपसभापतिहरूमा पुष्पा भुसाल, चन्द्र भण्डारी र मधु आचार्य रहेका छन् । महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला रहेका छन् ।
सहमहामन्त्रीमा रामहरि खतिवडा, अजयकुमार चौरसिया, जीवनबहादुर शाही, आङगेलु शेर्पा, प्रकाश रसाइली, बहादुरसिंह लामा, योगेन्द्र चौधरी र प्रतिमा गौतम रहेका छन् ।
कांग्रेस महाधिवेशनबाट २ सय ३१ जनाको पदाधिकारी र केन्द्रीय सदस्यसहति निर्वाचित भएका छन् । बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको शपथ भने दसैंपछि हुने कांग्रेसले जनाएको छ ।