म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ। असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले कुण्डका संरचनामा क्षति पुर्याएपछि स्नान सेवा बन्द गरिएको थियो।
म्याग्दी नदी किनारमा रहेको कुण्डमा बाढीले हिलो, बालुवा र गेग्रान थुपारेपछि स्नान गर्न नमिल्ने अवस्था बनेको थियो। स्थानीयवासी, सुरक्षाकर्मी तथा विभिन्न सङ्घसंस्थाको श्रमदानबाट मुख्य पोखरी र परिसरमा थुप्रिएको लेदो हटाएर स्नानयोग्य बनाएपछि बुधबारदेखि सेवा पुनःसञ्चालन गरिएको व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार)ले जानकारी दिए।
उनका अनुसार पुनःसञ्चालनको पहिलो दिन २० देखि २५ जनाले कुण्डमा स्नान गरेका छन्। “दसैँपछि स्नान गर्न आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ,” उनले भने।
असोज र कात्तिक तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम हुन्। यही समयमा कुण्ड बन्द हुँदा स्थानीय व्यापार व्यवसायसमेत प्रभावित भएको थियो।
कुण्डमा रहेका तीन पोखरीमध्ये उपचारका लागि बिरामीले स्नान गर्ने ठूलो र माथिल्लो पोखरीमा बाढीले हिलो थुपारेको थियो। पर्यटकका लागि निर्माण गरिएको सानो पोखरीसमेत बाढीले भत्काएको छ। त्यसैगरी, कपडा फेर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की रहेको भवन र खुला स्नानस्थलमा पनि क्षति पुगेको छ।
मुख्य पोखरीमा थुप्रिएको हिलो र लेदो श्रमदानबाट हटाइए पनि अन्य पोखरी तथा क्षतिग्रस्त संरचनाको मर्मतका लागि आर्थिक स्रोत जुटाउने प्रयास भइरहेको समितिले जनाएको छ।
कुण्डको पुनःनिर्माण तथा संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गरिएको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए। उनका अनुसार बाढीपहिरोका कारण कुण्डमा दुई करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ।
“सिङ्गाका विभिन्न टोल, युवा क्लब, आमा समूह, नेपाली सेना र सशस्त्र प्रहरीले श्रमदान गरेका छन्,” उनले भने, “दाता तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनःनिर्माण गरिएको हो।”
पुनःनिर्माण अभियानमा एक हजार तीन सयभन्दा बढी स्थानीयवासी, सुरक्षाकर्मी तथा सङ्घसंस्थाका प्रतिनिधिले श्रमदान गरेका थिए।
गत आर्थिक वर्ष २०८२/८३ मा २१ हजारभन्दा बढीले सिङ्गा तातोपानी कुण्डमा स्नान गरेका थिए। प्राकृतिक उपचारका लागि नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत मानिस यहाँ आउने गरेका छन्।
म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानी सङ्कलन गरी पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइएको छ। कुण्डको पानीको तापक्रम करिब ५० डिग्री सेल्सियस रहेको छ भने पानीमा बिरेनुनको जस्तो गन्ध आउने गर्छ।
यहाँको तातोपानीमा स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक, बाथ तथा चोटपटकका समस्या निको हुने जनविश्वास छ। असोजदेखि वैशाखसम्मको अवधिलाई तातोपानी कुण्डमा स्नान गर्न उपयुक्त याम मानिन्छ। कुण्डमा नौ दिन स्नान गर्नका लागि पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।