रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएपछि खाद्यान्न अभावको जोखिममा परेको रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टरमार्फत १० टन खाद्यान्न पुर्याएर वितरण गरिएको छ।
गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने दुर्गम हिमाली बस्ती लाङटाङका सबै घरपरिवारलाई खाद्यान्न सङ्कट हुन नदिन गाउँपालिका र सरोकारवाला निकायको समन्वयमा राहत सामग्री ढुवानी गरी वितरण गरिएको हो।
बाढीले स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र स्याफ्रु बजारमा ठूलो क्षति पुर्याउनुका साथै सडक तथा पुलसमेत बगाएपछि लाङटाङ क्षेत्रमा खाद्यान्न पुर्याउने एकमात्र विकल्प हेलिकप्टर बनेको थियो।
गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को हेलिकप्टरमार्फत हालसम्म १० टन खाद्यान्न लाङटाङ पुर्याइएको छ। उक्त खाद्यान्न स्थानीय सबै घरधुरीलाई आवश्यकताका आधारमा न्यायोचित रूपमा वितरण गरिसकिएको उनले जानकारी दिए।
जिल्ला सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल दूरीमा रहेको लाङटाङका सबै परिवारले गाउँमै खाद्यान्न पाएपछि राहत महसुस गरेका छन्।
सडक सञ्जाल पुनः सञ्चालनमा नआएसम्म खाद्यान्न आपूर्तिमा समस्या हुन सक्ने अवस्थामा हेलिकप्टरमार्फत गरिएको ढुवानीले स्थानीयवासीको दैनिक जीवनयापनमा ठूलो सहयोग पुगेको वडा कार्यालयले जनाएको छ।