काठमाडौं। काठमाडौंको बुढानीलकण्ठमा अवैध रूपमा सुन प्रशोधन कारखाना सञ्चालन गरेको आरोपमा प्रहरीले तीन चिनियाँ नागरिकलाई २१ किलो ७५० ग्राम सुनसहित पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित एक घरमा छापा मारेर करिब ५४ करोड ६० लाख रुपैयाँ मूल्यको सुन र प्रशोधनमा प्रयोग हुने उपकरण बरामद गरेको हो।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले पक्राउ पर्नेमा हान फेइ, झोउ लोङ कुइन र वाङ ज्याङ जेन रहेको बताए। प्रहरीका अनुसार उनीहरूले उक्त घर मासिक तीन लाख ३० हजार रुपैयाँ भाडामा लिएर अवैध कारखाना सञ्चालन गर्दै आएका थिए।
बरामद सुन बिस्कुट र लेसिलो (पेस्ट) अवस्थामा रहेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको परीक्षणबाट उक्त धातु सुन नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट सुन तौलने तराजु, प्रशोधन मेसिन, मोल्डिङ उपकरण, नेपाली तथा चिनियाँ मुद्रा, मोबाइल, सिमकार्ड र एटीएम कार्डसमेत बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार गिरोह चीनमा रहेका ‘जेन जिया ल’ नामक व्यक्तिको निर्देशनमा सञ्चालन हुँदै आएको देखिएको छ। मुख्य योजनाकार मानिएका सु क्यानले घर भाडामा लिएर चीन फर्केपछि अन्य व्यक्तिलाई नेपाल पठाएको प्रहरीको भनाइ छ। उनीहरूले वीच्याटमार्फत निर्देशन लिएर रासायनिक पदार्थ प्रयोग गरी कच्चा सुनलाई विभिन्न आकारमा ढाल्ने र ओसारपसार गर्ने गरेको खुलेको छ।
प्रहरीले डेलिभरीका लागि गाडीमा लैजान लागिएको अवस्थामा समेत सुन बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जना चिनियाँ नागरिक असोज महिनाका विभिन्न मितिमा नेपाल प्रवेश गरेको अभिलेखबाट देखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।