काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मो. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन्। दिवंगत कांग्रेस नेता मोहम्मद अफताब आलमका छोरा फिरदोस मधेशी क्लस्टरबाट सहमहामन्त्री बनेका हुन्।
कांग्रेसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत फिरदोसलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ।
फिरदोस हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाट निर्वाचित भएका थिए। उनले २९ हजार ५२८ मत प्राप्त गर्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहलाई पराजित गरेका थिए। साहले १८ हजार ४४२ मत प्राप्त गरेका थिए।
फिरदोसका पिता मोहम्मद अफताब आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका नेता थिए। उनी २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछि भएको भनिएको हत्याकाण्डसम्बन्धी प्रकरणका कारण चर्चामा आएका थिए।
उक्त प्रकरणमा रौतहट जिल्ला अदालतले २०८१ वैशाखमा आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। तर, २०८२ जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले प्रमाण पर्याप्त नभएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो।
सफाइ पाएपछि जेलमुक्त भएका आलमको २०८२ कात्तिक २१ गते उपचारका क्रममा काठमाडौंमा ६३ वर्षको उमेरमा निधन भएको थियो।