काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण पूरा गरी बुधबार साँझ स्वदेश फर्किएका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन उनी भारतको नयाँ दिल्ली पुगेका थिए ।
भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा नेपाल र भारतबीच साझा सुरक्षा चासोका विषयमा समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउनेबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
बिम्स्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत पुगेका गुरुङले भ्रमणका क्रममा क्षेत्रीय सुरक्षा र दुई देशबीचको सहकार्यका विषयमा छलफल गरेका हुन् ।