पोखरा। मुस्ताङको हिमाली खर्कबाट च्याङ्ग्रा धपाउँदै पोखरा आइपुगेका बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जनप्रतिनिधि जनताको जीवन र जीविकोपार्जनसँग जोडिनुपर्ने बताएका छन्। किसानले उत्पादनको उचित मूल्य पाउनुपर्ने भन्दै उनी आफ्नै वडाका किसान र च्याङ्ग्रासहित पोखराको याम्दी बजारमा आएका हुन्।
‘राजनीति जनताको जीवनसँग जोडिनुपर्छ । जब हाम्रा गोठाला बाढीपहिरोमा जोखिम मोलेर च्याङ्ग्रा हिँडाउँछन्, तब वडाध्यक्ष कुर्सीमा बसेर हेरिरहन सक्दैन,’ गुरुङले भने।
उनले आफ्नो वडालाई च्याङ्ग्राको पकेट क्षेत्रका रूपमा विकास गर्ने प्रयाससँगै किसानको उत्पादनलाई बिचौलियाबिनै उपभोक्तासम्म पुर्याउन आफू बजारमै आएको बताए। हिमाली खर्कमा हुर्किएका रैथाने च्याङ्ग्राको बजार विस्तार गर्नु र किसानले वर्षभरि गरेको मेहनतको उचित मूल्य सुनिश्चित गर्नु आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।
यस वर्ष कालीगण्डकी करिडोरमा आएको बाढीपहिरोका कारण मुस्ताङ–पोखरा सडकका विभिन्न खण्ड प्रभावित हुँदा च्याङ्ग्रा पोखरा ल्याउन कठिनाइ भएको थियो। प्रतिकूल परिस्थितिका बाबजुद मुस्ताङसहित विभिन्न हिमाली क्षेत्रबाट भेडा–च्याङ्ग्रा पोखरा ल्याइएका छन्। यस वर्ष पोखरामा १० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा आइसकेको व्यवस्थापनमा संलग्नहरूले बताएका छन्।
पोखराको याम्दीमा यसपटक च्याङ्ग्रा बिक्री तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ। जौवारी वन उपभोक्ता समितिका सदस्य एवं खसीबोका तथा च्याङ्ग्रा व्यवस्थापन समितिका संयोजक मिलनजंग राणाका अनुसार पशु राख्न करिब ४० वटा खोर निर्माण गरिएका छन्। निजी जग्गामा समेत खोर बनाइएको छ।
खोरमा च्याङ्ग्राका लागि पानी, दाना र बस्ने ठाउँको व्यवस्था मिलाइएको छ। त्यसैगरी, डिजिटल तौल काँटाको प्रयोगले उपभोक्तालाई वास्तविक तौलका आधारमा च्याङ्ग्रा खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ। यसअघि सडक किनार र खुला ठाउँमा पशु राखेर बिक्री गर्दा धुलो, फोहोर, ट्राफिक जाम तथा मूल्य निर्धारणमा समस्या हुने गरेको थियो।
दशैँ नजिकिएसँगै याम्दीमा च्याङ्ग्रा किन्ने उपभोक्ताको चहलपहल बढेको छ। च्याङ्ग्रा किन्न आएका यामकान्त गौतमले दशैँमा परम्पराअनुसार च्याङ्ग्रा किन्ने गरेको बताए। हिमाली खर्कमा हुर्किएका च्याङ्ग्रा रोजेर चाड मनाउन आफू बजार आएको उनको भनाइ छ।
मुस्ताङका च्याङ्ग्रा दशैँको परम्परागत परिकारका रूपमा मात्र सीमित छैनन्। तिनको बिक्रीले हिमाली क्षेत्रका किसान तथा पशुपालकको आम्दानी र स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याउँछ। किसान आफैँ बजारमा आउनु र बिक्रीस्थल व्यवस्थित बनाइनुले उत्पादक तथा उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने देखिन्छ।
वडाध्यक्ष गुरुङको बजार उपस्थितिले जनप्रतिनिधिको भूमिका प्रशासनिक काममा मात्र सीमित नभई स्थानीय उत्पादन, किसानको जीविकोपार्जन र बजार व्यवस्थापनसँग पनि जोडिनुपर्ने सन्देश दिएको छ।