एजेन्सी– साउदी अरबमा सुरक्षा जोखिम बढ्दै गएको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा नगर्न आग्रह गरेको छ।
अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग (डीएफएटी) ले आफ्नो आधिकारिक यात्रा परामर्श सेवा ‘स्मार्टट्राभलर’ मार्फत सूचना जारी गर्दै साउदी अरबको सुरक्षा अवस्था र क्षेत्रीय परिस्थितिलाई ध्यानमा राखेर यात्रा योजनाबारे पुनर्विचार गर्न नागरिकलाई सुझाव दिएको हो।
विभागका अनुसार पछिल्ला सुरक्षा घटनाका कारण विमानस्थलको सञ्चालन प्रभावित हुन सक्ने जोखिम छ। क्षेत्रीय सैन्य द्वन्द्वका कारण हवाई क्षेत्र बन्द हुने, उडान रद्द हुने तथा आवागमनमा प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेकाले यात्रुहरूको सुरक्षा र आवागमनमा चुनौती थपिन सक्ने जनाइएको छ।
विमानस्थल हुँदै यात्रा गर्ने निर्णय गरेका नागरिकलाई आफ्नो उडानको अवस्थाबारे सम्बन्धित विमान कम्पनी वा यात्रा व्यवस्थापकसँग सम्पर्क गरी पुष्टि गर्न र विमानस्थलमा अनावश्यक रूपमा लामो समय नबस्न विभागले आग्रह गरेको छ।
त्यस्तै, सुरक्षा घटनाक्रमबारे नियमित जानकारी लिन, स्थानीय अधिकारीका निर्देशन पालना गर्न र व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन पनि नागरिकलाई सुझाव दिइएको छ। सम्भावित आक्रमणको जोखिमलाई मध्यनजर गर्दै सैन्य अखडा तथा ऊर्जा पूर्वाधारबाट टाढा रहन र आक्रमण भएमा सुरक्षित बन्द स्थानमा आश्रय लिन विभागले आग्रह गरेको छ।
यसैबीच, अस्ट्रेलियाले साउदी अरबका दक्षिणी प्रान्त असिर, जिजान र नजरानमा यात्रा नगर्न दिएको चेतावनीलाई निरन्तरता दिएको छ। यमनसँगको सीमाबाट ३० किलोमिटरभित्र पर्ने क्षेत्रमा समेत यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरिएको छ।
क्षेत्रीय सुरक्षा अवस्था बिग्रँदा अन्तर्राष्ट्रिय हवाई सेवा र यात्रुहरूको सुरक्षामा पर्न सक्ने असरलाई ध्यानमा राख्दै अस्ट्रेलियाले आफ्नो यात्रा परामर्श अद्यावधिक गरेको हो।