गुल्मी । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि अवरुद्ध गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मौसममा सुधार आएसँगै नेपाल वायुसेवा निगमले काठमाडौँ–गुल्मी हवाई उडान पुनः सुरु गरेको हो ।
रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई सेवा अवरुद्ध भएको थियो । खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडानमा जोखिम हुन सक्ने भएपछि सेवा रोक्नुपरेको उनले बताए ।
हवाई सेवा पुनः सञ्चालन भएसँगै मङ्गलबार काठमाडौँबाट १३ यात्रु लिएर विमान गुल्मीमा अवतरण गरेको थियो । गुल्मीबाट भने दुई जना यात्रु बोकेर विमान काठमाडौँ फर्किएको छ ।
नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएमा सातामा तीन दिन उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । लामो समयदेखि हवाई सेवा बन्द हुँदा विशेषगरी वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले काठमाडौँ जानुपर्ने यात्रु समस्यामा परेका थिए ।
निगमले रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको ट्विनअटर विमानमार्फत उडान गर्दै आएको छ । नयाँ तालिकाअनुसार आइतबार र मङ्गलबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे तथा रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ८ः१५ बजे उडान हुनेछ । त्यस्तै, शुक्रबार काठमाडौँबाट बिहान ६ः२० बजे र रेसुङ्गाबाट बिहान ७ः२० बजे उडान गर्ने व्यवस्था मिलाइएको छ ।
निगमले काठमाडौँबाट गुल्मीका लागि प्रतियात्रु १० हजार ७१० रुपैयाँ र गुल्मीबाट काठमाडौँका लागि १० हजार ५१० रुपैयाँ हवाई भाडा निर्धारण गरेको छ ।
हवाई सेवा सञ्चालनमा आएसँगै गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सहज हुने अपेक्षा गरिएको छ । सडकमार्गबाट काठमाडौँ पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिकले हवाई सेवामार्फत ४५ देखि ५० मिनेटमै राजधानी आवतजावत गर्न सक्नेछन् ।
नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक हवाई सेवा सुरु गरेको थियो । यद्यपि, पछिल्लो समय इन्धनको मूल्यवृद्धि, सडक पूर्वाधारको स्तरोन्नति तथा आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या घट्दै गएको बताइएको छ ।