काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहले राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट मुक्त रहेर निष्पक्ष रूपमा अपराध अनुसन्धान गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्। उनले बदलिँदो अपराधको स्वरूपअनुसार अनुसन्धानलाई वैज्ञानिक, प्रमाणमुखी र प्रविधिमैत्री बनाउन पनि जोड दिएका छन्।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले इमानदारी, अनुशासन, नैतिकता र जवाफदेहितालाई प्रहरीको कार्यसम्पादनको आधार बनाउन आग्रह गरे।
करिब १६ महिनाको तालिम पूरा गरेका अधिकृतहरूलाई बधाई दिँदै उनले संविधान र प्रचलित कानुनको पालना गर्दै अनुचित प्रभावमा नपरी कर्तव्य निर्वाह गर्न निर्देशन दिए।
प्रधानमन्त्री साहले भने, ‘कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु।’
शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने जिम्मेवारीमा सम्झौता नगर्न आग्रह गर्दै उनले प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।
तालिम पूरा गरेका प्रहरी निरीक्षकहरू अब देशका विभिन्न भागमा खटिनेछन्।