काठमाडौं। सरकारले देशभर २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने भएको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार सम्मेलनमा प्रारम्भिक चरणमा छनोट गरिएका २७ आयोजनामा काम अघि बढाइने बताए।
उनका अनुसार देशभरका सबै खेलकुद पूर्वाधार एकैपटक निर्माण तथा स्तरोन्नति गर्न बजेट र प्राविधिक सीमितता रहेकाले प्राथमिकताका आधारमा यी आयोजना छनोट गरिएको हो। लामो समयदेखि अघि बढ्न नसकेका खेलकुद पूर्वाधारसम्बन्धी आयोजनालाई समेत यसबाट गति दिने सरकारको अपेक्षा छ।
‘देशभरका सबै खेल पूर्वाधार एकैपटक निर्माण गर्न सम्भव नभए पनि २७ वटा आयोजनाबाट सुरु गर्नु महत्त्वपूर्ण सुरुआत हो,’ मन्त्री पोखरेलले भने।
छनोट भएका स्थानमा तत्काल निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले बताए। सरकारले आगामी दिनमा खेलकुद पूर्वाधारमा लगानी थप विस्तार गर्ने नीति लिएको पनि उनले जानकारी दिए।