काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिर रहेको भन्दै ऊर्जा र कृषिमा आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताएका छन्।
सोमबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले रुस–युक्रेन तथा इरान–अमेरिका द्वन्द्वलगायत अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावले विश्व बजारमा इन्धनको आपूर्ति र मूल्यमा अस्थिरता आएको उल्लेख गरे। यसको प्रत्यक्ष असर नेपालजस्तो आयातमा निर्भर मुलुकमा पर्ने उनको भनाइ थियो।
उनले परम्परागत इन्धनको विकल्प खोज्दै ब्रिकेट, विद्युत् तथा अन्य स्वदेशी ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिए। साथै, आयातित चामलमा निर्भरता घटाउन मकै, फापर, कोदो, सिमी लगायत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए।
‘ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध हाम्रो नियन्त्रणमा हुँदैन।’
साहले आपूर्ति संकटका बेला समस्या मात्र देखाउनेभन्दा स्वदेशमै उपलब्ध विकल्प र सम्भावनाबारे नागरिकलाई जानकारी गराउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए। पहाडी क्षेत्रमा उत्पादन हुने रैथाने बालीको प्रवद्र्धन गरी कृषिमा आत्मनिर्भरता बढाउनुपर्ने उनको भनाइ थियो।
सांसदहरूले उठाएका ग्यास आपूर्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै साहले बाह्य वस्तुमाथिको निर्भरता घटाउन वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्ने धारणा दोहोर्याए।