काठमाडाैँ । दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने भएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा बसेको दसौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको बैठकले प्रतियोगितासम्बन्धी विभिन्न निर्णय गरेको हो ।
बैठकले राखेप बोर्डले कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म दशाैँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णयलाई सहमति प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।
प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपीएफ) का तीन विभागीय टोली तथा एनआरएनएको टोली सहभागी हुनेछन् । प्रतियोगितामा कुल ३२ खेल समावेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।
दसौं राष्ट्रिय खेलकुदलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै बैठकले प्रतियोगिताको व्यवस्थापनमा निजी क्षेत्र, संघसंस्था तथा अन्य सरोकारवाला निकायलाई समेत सहभागी गराउने निर्णय गरेको छ ।
त्यसका लागि सार्वजनिक–निजी साझेदारीको अवधारणा अवलम्बन गर्ने र निजी क्षेत्र तथा प्रायोजकसँग सम्झौता गरी प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय भएको छ ।
यसैगरी, पहिलोपटक पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना तथा व्यवस्थापनका लागि आवश्यक कार्य अघि बढाउने निर्णय पनि मूल आयोजक समितिले गरेको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–२०८३ को दफा ५ मा रहेको मूल आयोजक समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थाअनुसार दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुद सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न–गराउन कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले दसौं राष्ट्रिय खेलकुदको तयारी तथा प्रतियोगिताका विभिन्न पक्षबारे जानकारी गराएका थिए । उनले प्रतियोगिता सफल बनाउन सम्बन्धित सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए ।
कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुदका खेलहरू सुर्खेतसहित प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गर्ने तयारी छ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा पूर्वाधार, खेलस्थल, खेलाडी व्यवस्थापन, आवास तथा यातायातलगायतका विषयमा तयारीलाई तीव्रता दिने राखेपको योजना छ।