पर्वत– पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेको छ । लगातार वर्षाको पूर्वसूचना पाए पनि स्थानीयले कालीगण्डकी र सेतीखोलाको जलसतह बढ्दै गएपछि सामान्य बाढी आउने अनुमान गरेका थिए ।
गत शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला सामान्य रूपमै बगिरहेका थिए । राति करिब १२ बजे माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह अस्वाभाविक रूपमा बढेको सूचना सेतीवेणी प्रहरी चौकीमा पुगेपछि प्रहरीले तत्काल महत्वपूर्ण कागजात सुरक्षित गर्न र चौकी छाडेर सुरक्षित स्थानमा जान थालेको थियो ।
प्रहरीले आसपासका बासिन्दालाई समेत सुरक्षित स्थानतर्फ जान आग्रह गरेको केही समयमै कालीगण्डकी र सेतीखोलाको बाढी बजार क्षेत्रमा पसेको थियो ।
बाढीले पर्वततर्फ नौ घर बगाएको छ भने करिब ५० घर डुबानमा परेका छन् । सँगै जोडिएको स्याङ्जाको गल्याङ नगरपालिका–५ को बजार क्षेत्र पनि पूर्ण रूपमा डुबानमा परेको थियो ।
स्याङ्जातर्फ करिब २५ कच्ची तथा पक्की घर बाढीले बगाएको स्थानीयले बताएका छन् । अहिले ती क्षेत्रमा ठूलो मात्रामा बालुवा र गिटी थुप्रिएर बगरमा परिणत भएको छ ।
स्थानीय रेशमलाल न्यौपानेले केही दिनअघिसम्म बजारका रूपमा रहेको क्षेत्र अहिले बगरमा परिणत हुँदा विश्वास गर्नै कठिन भएको बताए । उनका अनुसार पर्वततर्फ घर तथा विभिन्न व्यवसायमा भएको क्षति जोड्दा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
बाढीले सेतीवेणी प्रहरी चौकीसहित खाद्यान्न, विद्युतीय सामग्री, भाँडाकुँडा, फेन्सी पसल तथा होटलमा क्षति पुर्याएको छ । नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारी तथा अन्य संस्थासमेत डुबानमा परेका छन् ।
गुल्मीको अर्बेनीबाट सेतीवेणीमा आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाले करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन् । स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यसरी ठूलो बाढी पसेको पहिलोपटक देखेको बताए ।
स्थानीय होटल व्यवसायी उमाकान्त न्यौपानेको घरसहित ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बाढीपछि उनी परिवारसहित स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन् । उनले जीवनभरको कमाइ एकै रातमा बाढीले बगरमा परिणत गरेको बताए ।
बाढी प्रभावितलाई बिहादी गाउँपालिकाले स्थानीय शालिग्राम माध्यमिक विद्यालयमा बस्ने र खाने व्यवस्था मिलाएको छ ।
यता, स्याङ्जातर्फको बजार क्षेत्र पनि बाढीपछि खण्डहरजस्तै बनेको छ । यहाँ सानाठूला गरी करिब २५ घरमा क्षति पुगेको छ । लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आएका खिमप्रसाद पौडेलले स्वदेशमै केही गर्ने उद्देश्यले गरेको लगानी बाढीले क्षणभरमै बगाएको बताए । उनका अनुसार करिब ५० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बाढीले बगाएको छ ।
गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ पनि करोडौँ रुपैयाँको क्षति भएको छ । भौतिक संरचनाबाहेक स्थानीयको १५ करोड रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको उनले बताए ।
बाढीले स्थानीय मन्दिर, सत्तल तथा शालिग्राम शिलासम्म पुग्ने पैदलमार्गलगायत संरचनामा समेत क्षति पुर्याएको छ । बाढीपीडितलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको वडाध्यक्ष भट्टराईले बताए ।
वर्षौँको लगानी, मेहनत र परिश्रम बाढीले बगाएपछि स्थानीय रोजगारी र व्यवसायविहीन भएका छन् । अब सुरक्षित स्थानमा बसाइँ सर्ने कि जोखिम मोलेर सोही स्थानमा घर तथा व्यवसाय पुनः सञ्चालन गर्ने भन्ने विषयमा उनीहरू अन्योलमा छन् ।
स्थानीय शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालले बजार क्षेत्र असुरक्षित बनेपछि स्थानीय नयाँ ठाउँमा जाने वा जोखिम मोलेर पुनः सोही स्थानमा बस्ने भन्ने विषयमा अन्योलमा रहेको बताए ।