हुम्ला । जडीबुटी संकलनका लागि जंगलतर्फ गएका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना स्थानीय एक सातादेखि सम्पर्कविहीन भएका छन् । उनीहरू लामो समयदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोजी तथा उद्धारका लागि पहल थालिएको छ ।
सम्पर्कविहीन हुनेमा स्थानीय बलिवान बोहरा, जुन बोहरा, गोरासिँह भण्डारी, धनपुरी भण्डारी, धनमानसिँह बोहरा, पिउली बोहरा, पुन्न बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन् ।
स्थानीयका अनुसार उनीहरू हुम्लाको खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–५ को सीमाक्षेत्रमा पर्ने वन क्षेत्रमा जडीबुटी संकलन गर्न गएका थिए । जडीबुटी संकलनका लागि गएको एक सातासम्म पनि घरपरिवार तथा आफन्तको सम्पर्कमा नआएपछि उनीहरूको अवस्था अज्ञात बनेको हो ।
स्थानीय ग्वामसिँह भण्डारीका अनुसार उनीहरू लामो समयदेखि सम्पर्कविहीन भएपछि परिवारजन तथा स्थानीयले खोजीका लागि सम्बन्धित निकायमा जानकारी गराएका छन् । उनीहरूको अवस्थाबारे तत्काल खोजी तथा उद्धारको व्यवस्था गर्न स्थानीय प्रशासनसँग आग्रह गरिएको छ ।
सम्पर्कविहीन भएका व्यक्तिका आफन्तले स्थानीय प्रशासन, प्रदेश सरकार र संघीय सरकारलाई समेत घटनाबारे जानकारी गराउँदै खोज तथा उद्धारका लागि पहल गर्न आग्रह गरेका छन् ।
दुर्गम तथा भौगोलिक रूपमा कठिन क्षेत्रमा जडीबुटी संकलनका लागि जाने गरेका स्थानीय लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् । उनीहरूको खोजीका लागि सम्बन्धित निकायबाट आवश्यक समन्वय र उद्धार प्रयास अघि बढाउनुपर्ने अवस्था देखिएको छ ।