राँझा (बाँके) । सीमा नाकामा अवैध तरकारी आयात नियन्त्रण गर्न कडाइ गरिएपछि नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा नेपाली उत्पादनको माग बढेको छ । विशेषगरी सल्यान, रुकुम, रोल्पा र दाङलगायतका पहाडी तथा भित्री मधेसका जिल्लामा उत्पादित तरकारीले बजार पाउन थालेको हो ।
रानी तलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार जेठदेखि मङ्सिरसम्म नेपालगन्जको बजारमा खपत हुने कुल तरकारीमध्ये करिब ८० प्रतिशत स्वदेशी उत्पादन हुने गरेको छ । बाँकी २० प्रतिशत तरकारी भारतीय तथा अन्य क्षेत्रबाट आउने गरेको उनले जानकारी दिए ।
उनका अनुसार हरेक बिहान सल्यान, रुकुम, रोल्पा र दाङलगायतका जिल्लाबाट दर्जनभन्दा बढी मालवाहक गाडीमा ताजा तरकारी रानी तलाउ बजारमा भित्रिने गरेका छन् । ती जिल्लाबाट गोलभेडा, बन्दा, काउली, भान्टा, सिमी, खुर्सानी, लौका, करेला, बोडी र काँक्रोलगायतका तरकारी नियमित रूपमा आउने गरेका छन् ।
सीमा नाकामा अवैध रूपमा भित्रिने तरकारीमाथि निगरानी बढाइएपछि नेपाली उत्पादनको माग र खपतमा उल्लेख्य वृद्धि भएको अध्यक्ष क्षेत्रीले बताए । गत वर्षको तुलनामा यस वर्ष पहाडी जिल्लाबाट आउने तरकारीको परिमाणसमेत बढेको उनको भनाइ छ ।
“सीमामा निगरानी कडा हुँदा अवैध आयात नियन्त्रणमा आएको र त्यसको प्रत्यक्ष लाभ नेपाली किसानले पाएका छन्”, उनले भने, “स्वदेशमै उत्पादन भएको ताजा तरकारीले सहजै बजार पाउन थालेपछि किसानले आफ्नो पसिना र उत्पादनको उचित मूल्य पाउन थालेका छन् ।”
रानी तलाउ तरकारी बजार नेपालगन्जका लागि मात्र नभई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उपभोक्ताका लागि पनि प्रमुख थोक बजारका रूपमा परिचित छ । यहाँ दैनिक ठूलो परिमाणमा तरकारीको कारोबार हुने गरेको छ । बजारमा सङ्कलित तरकारी विभिन्न खुद्रा बजार तथा आसपासका जिल्लामा आपूर्ति हुँदै आएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले रानी तलाउ बजार क्षेत्रीय कृषि अर्थतन्त्रको महत्वपूर्ण केन्द्रका रूपमा विकास भइरहेको बताए । स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणलाई निरन्तर प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
अवैध आयात नियन्त्रणले नेपाली किसानलाई उत्पादन बढाउन प्रोत्साहन मिल्नुका साथै स्वदेशी कृषि उत्पादनको बजारीकरणमा समेत सहयोग पुगेको छ । यसले मुलुकको कृषि अर्थतन्त्रलाई मजबुत बनाउन र आत्मनिर्भरतातर्फ अघि बढ्न सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।