काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।
सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले विधि र प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले सरकारको छवि धुमिल भएको बताए। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसंग उठाउँदै उनले कानुनी आधार र अदालतको पक्राउ पुर्जीबिना गरिने गिरफ्तारीले कानुनी राज्यको उपहास हुने जिकिर गरे।
“कोही पनि व्यक्तिलाई पक्राउ गर्नुहुन्न भन्ने होइन, तर पक्राउ गर्दा कानुनी आधार र अदालतको पक्राउ पुर्जी अनिवार्य हुनुपर्छ,” उनले भने।
भ्रष्टाचार र अपराध अनुसन्धानमा सरकार छनोटपूर्ण बनेको आरोप लगाउँदै शाहीले प्रमाणबिना राति पक्राउ गर्ने र पछि छाड्ने कार्यले राज्यसत्ताको दुरुपयोग देखाउने बताए। भ्रष्टाचारका विभिन्न प्रकरणमा आरोपितहरू खुला हिँडिरहेको तर सरकारले व्यक्तिगत प्रतिशोधका लागि शक्ति प्रयोग गरिरहेको उनको आरोप थियो।
“तपाईंहरूले जसरी इगो साट्न पक्राउ गर्ने खेल सुरु गर्नुभएको छ, यसको हिसाबकिताब भोलि जनताले माग्छन्,” उनले भने।
शाहीले भ्रष्टाचारविरुद्ध सरकारले वास्तविक कदम चाले आफ्नो दलले सहयोग गर्ने बताए। राज्यसत्ताको दुरुपयोग जारी रहे जनता सडकमा आउन बाध्य हुने उनको चेतावनी थियो।