चितवन – चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट नारायणी नदीले बगाएको एउटा गैँडा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–४ पुगेको छ। करिब पाँच वर्ष उमेरको उक्त गैँडा सोमबार बिहान सुस्ता क्षेत्रमा देखिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडा सुस्ता पुगेको जानकारी प्राप्त भएपछि त्यसको निगरानी तथा उद्धारको तयारी थालिएको छ। निकुञ्जको टोलीले गैँडाको गतिविधि र अवस्थाबारे निरन्तर रेकी गरिरहेको उनले बताए।
“गैँडाको रेकी भइरहेको छ। उद्धार गरेर निकुञ्जमा ल्याउने तयारीमा छौँ,” थापामगरले भने।
उनका अनुसार गैँडालाई सुरक्षित रूपमा नियन्त्रणमा लिन डार्ट गरेर बेहोस बनाउने र त्यसपछि डुङ्गा वा भारतीय भूभाग हुँदै निकुञ्जतर्फ ल्याउने विकल्पबारे तयारी भइरहेको छ। सुस्ता क्षेत्र नेपालकै भए पनि त्यहाँ पुग्न भारतीय भूभाग हुँदै जानुपर्ने भएकाले भारतीय पक्षसँग समेत समन्वय आवश्यक हुने उनले बताए।
शनिबार र आइतबार नारायणी नदीमा आएको ठूलो बाढीका कारण नदी तटीय क्षेत्रबाट गैँडा बगेर सुस्ता पुगेको अनुमान गरिएको छ। बाढीले अन्य गैँडा तथा वन्यजन्तुसमेत बगाएर भारततर्फ पुर्याएको हुनसक्ने निकुञ्जका अधिकारीहरूको आकलन छ।
यसअघि विसं २०७४ साउन २८ गते राप्ती तथा नारायणी नदीमा आएको ठूलो बाढीका क्रममा पनि चितवन राष्ट्रिय निकुञ्जका धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमिमा पुगेका थिए। तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. रामचन्द्र कँडेलका अनुसार त्यसबेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी नेपाल ल्याइएको थियो।
त्यस समयमा भारतको बाल्मिकी टाइगर रिजर्भका अधिकारीहरूसँगको समन्वय र सहकार्यमा गैँडा उद्धार गरी नेपाल ल्याउन सहज भएको थियो। यसपटक पनि बाढीको बहाव अत्यधिक रहेकाले केही गैँडा भारतसम्मै पुगेको हुनसक्ने अनुमान गरिएको छ।