काठमाडौं । भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा १५ हजार रन पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।
वेस्ट इन्डिजविरुद्धको पहिलो ओडीआईमा कोहलीले चौका प्रहार गर्दै आफ्नो ओडीआई करिअरको १५ हजार रन पूरा गरेका हुन् ।
१५ हजार रन पूरा गर्ने कोहली ओडीआई क्रिकेटका दोस्रो खेलाडी बनेका छन् । यसअघि भारतीय क्रिकेटका महान् ब्याटर सचिन तेन्दुलकरले यो उपलब्धि हासिल गरेका थिए ।
तर, कोहलीले तेन्दुलकरभन्दा कम इनिङ्समा १५ हजार रन पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन् । कोहलीले ३०३ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् भने तेन्दुलकरले ३७७ इनिङ्समा १५ हजार रन पूरा गरेका थिए ।
कोहलीले १४ हजारदेखि १५ हजार रनको यात्रा पूरा गर्न १६ इनिङ्स मात्र खर्चिए ।
टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका कोहलीले ओडीआईमा भने आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
वेस्ट इन्डिजले दिएको २९६ रनको लक्ष्य पछ्याइरहेको भारतका लागि कोहली यो समाचार तयार पार्दासम्म ७५ रन बनाएर क्रिजमा छन् ।