लखनउ । भारतको उत्तर प्रदेशमा करिब ७२ घण्टादेखि जारी अविरल वर्षाले जनजीवन प्रभावित भएको छ। भारी वर्षापछि आएको बाढी, जलभराव, घर तथा रुख ढल्नेलगायतका घटनामा शनिबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ। वर्षाका कारण कृषि क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ।
शनिबार प्रदेशका अधिकांश क्षेत्रमा तीव्र हावासहित मुसलधारे वर्षा भएको थियो। करिब १० जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आइतबार बिहान राजधानी लखनउसहित आसपासका क्षेत्रमा समेत हल्का वर्षा जारी थियो।
५८ जनाको मृत्यु
लगातारको वर्षाका कारण विभिन्न स्थानमा कच्ची घर भत्किएका छन्। रुख तथा विद्युत्का पोल ढलेर सडक अवरुद्ध भएका छन् भने विद्युत् लाइनमा क्षति पुग्दा कतिपय क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
वर्षाजन्य घटनामा प्रदेशभर ५८ जनाको मृत्यु भएको जनाइएको छ। सबैभन्दा धेरै २६ जनाको मृत्यु अवध क्षेत्रका जिल्लामा भएको छ। सीतापुरमा ६, बहराइचमा ५, बलरामपुर र अयोध्यामा ४–४, बाराबंकीमा ३ जनाको मृत्यु भएको छ। गोन्डा, अमेठी र श्रावस्तीमा समेत मानवीय क्षति भएको छ।
लखीमपुर खीरीमा ६, गोरखपुरमा ५, हरदोईमा ४ तथा हमीरपुरमा ३ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ। अन्य केही जिल्लामा पनि वर्षासँग सम्बन्धित घटनामा एक–दुई जनाको मृत्यु भएको जनाइएको छ।
एकै दिन ३४२ मिलिमिटर वर्षा
शनिबार लखीमपुर खीरीमा ३४२ मिलिमिटर वर्षा मापन गरिएको थियो। सीतापुरमा २७३.२, बाँदामा २४५.६ र बहराइचमा २३९ मिलिमिटर वर्षा भएको छ।
बाँदा र हमीरपुरमा एकै दिनको वर्षाले यसअघिको रेकर्ड तोडेको जनाइएको छ। कानपुरमा १७५.४ मिलिमिटर वर्षा भएपछि ४५ वर्षदेखिको वर्षा रेकर्डसमेत तोडिएको बताइएको छ।
भारी वर्षाका कारण बरेलीको अधिकतम तापक्रम २१.३ डिग्री सेल्सियसमा झरेको थियो। यो सेप्टेम्बर महिनामा त्यहाँ मापन गरिएको अहिलेसम्मकै न्यून तापक्रम भएको जनाइएको छ। इटावा, शाहजहाँपुर, मुरादाबाद र आगरा पनि सेप्टेम्बरका चिसा दिनमध्ये एक बनेका छन्।
आइतबार पनि भारी वर्षाको सम्भावना
भारतीय मौसम विभागले आइतबार पनि उत्तर प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ। मुरादाबाद, रामपुर, पीलीभीत र बरेलीमा अति भारी वर्षाका लागि ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ।
तराई क्षेत्रका थप नौ जिल्लामा भारी वर्षाका लागि ‘येलो अलर्ट’ जारी गरिएको छ। प्रदेशका २७ जिल्लामा मेघगर्जनसहित प्रतिघण्टा ४० देखि ६० किलोमिटरको गतिमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहले सोमबारदेखि उत्तर प्रदेशमा वर्षाको गतिविधि क्रमशः घट्ने सम्भावना रहेको बताएका छन्।
लखनउका सडकदेखि विमानस्थलसम्म प्रभावित
लगातारको वर्षाले राजधानी लखनउका विभिन्न सडक जलमग्न भएका छन्। कतिपय स्थानमा घुँडासम्म पानी जमेको थियो। पुरनिया ओभरब्रिजमुनि खाल्डाखुल्डीमा पानी जम्दा अटो तथा ई–रिक्सा पल्टिएका थिए।
निशातगन्जमा करिब १५० वर्ष पुरानो बरको रूख ढलेको छ। नगर निगमका अनुसार लखनउमा मात्रै १२५ भन्दा बढी रुख ढलेका छन्। केही स्थानमा सवारीसाधनमा क्षति पुगे पनि ती घटनामा मानवीय क्षति नभएको जनाइएको छ।
भारी वर्षाका कारण चारबाग रेलवे स्टेसन आसपास पनि जलभराव भएको थियो। रेलमार्गमा पानी जम्दा लखनउ मण्डलअन्तर्गतका केही रेलखण्डमा रेलको गति घटाइएको थियो।
कम भिजिबिलिटीका कारण लखनउ विमानस्थलमा अवतरणका लागि आएका छवटा उडान दिल्ली र नोएडातर्फ डाइभर्ट गरिएका थिए। ती सबै विमान शनिबार बिहान लखनउ फर्किएका थिए।
सीमावर्ती क्षेत्रमा उच्च सतर्कता
नेपालमा समेत भारी वर्षा भइरहेका कारण उत्तर प्रदेशका सीमावर्ती, विशेषगरी पूर्वी उत्तर प्रदेशका जिल्लामा नदीको जलस्तर बढ्न सक्ने भन्दै प्रशासनलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
सम्बन्धित जिल्लाका अधिकारीलाई नदीको जलस्तर निरन्तर निगरानी गर्न तथा बाढी उद्धार टोलीलाई तयारी अवस्थामा राख्न भनिएको छ।
उत्तर प्रदेशका ६३ जिल्लामा सामान्यभन्दा बढी वर्षा भएको जनाइएको छ। पछिल्लो २४ घण्टामा प्रदेशभर सामान्यभन्दा १९ गुणा बढी वर्षा भएको विवरणमा उल्लेख छ। फर्रुखाबादमा सामान्यभन्दा २०० गुणा र कानपुर नगरमा १६० गुणा बढी वर्षा भएको जनाइएको छ।
सरकारका अनुसार पछिल्लो ४८ घण्टामा अतिवृष्टि र हावाहुरीका कारण ११७ घरमा क्षति पुगेको छ। प्रभावित परिवारको तत्काल सर्वेक्षण गरी राहत उपलब्ध गराउन तथा जोखिममा रहेका कच्ची घरमा बस्ने परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।