काठमाडौं। नेपाली महिला कबड्डी टोलीको २०औँ एसियाली खेलकुदमा स्वर्णका लागि अघि बढ्ने यात्रा सेमिफाइनलमै रोकिएको छ। शुक्रबार टोकाया सिटिजेन जिम्नाजियममा भएको सेमिफाइनलमा नेपाल छिमेकी भारतसँग ४८–२४ ले पराजित भयो।
समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले यसअघि नै काँस्य पदक पक्का गरिसकेको थियो। भारतसँगको हारसँगै नेपाल पहिलोपल्ट एसियाली खेलकुदको फाइनल पुग्ने अवसरबाट वञ्चित भयो। १९औँ एसियाली खेलकुदमा पनि नेपाल सेमिफाइनलमै रोकिएको थियो।
नेपालले खेलको सुरुआतमा भारतलाई केही समय दबाबमा राखेको थियो। पहिलो पाँच मिनेटमा भारत ९–५ ले मात्र अघि थियो। त्यसपछि भने भारतले खेलमा पकड बलियो बनाउँदै पहिलो हाफ ३१–१७ को अग्रता लियो। नेपाल पहिलो हाफमा दुईपटक अलआउट भयो।
पहिलो हाफमा भारतले चार बोनस अंक लिँदा नेपालले तीन बोनस अंक जोड्यो। नेपालले एकपटक सुपर ट्याकल गरे पनि भारतको निरन्तर दबाब रोक्न सकेन।
दोस्रो हाफमा नेपाल खेलमा फर्कने प्रयासमा रहे पनि आक्रमण र डिफेन्स दुवैमा प्रभावकारी प्रदर्शन गर्न सकेन। नेपालले दोस्रो हाफमा सात अंक मात्र जोड्दा भारतले १७ अंक थप्दै सहज जित निकाल्यो।
समूह ‘बी’ मा रहेको नेपालले तीनमध्ये दुई खेल जित्दै सेमिफाइनल यात्रा तय गरेको थियो। नेपालले थाइल्यान्डलाई ४६–४३ तथा श्रीलंकालाई ३४–२५ ले पराजित गरेको थियो।