काठमाडौँ । सरकारले खेलकुद क्षेत्रको बृहत्तर विकास तथा तल्लो तहबाटै प्रतिभावान् खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। यसका लागि खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा मन्त्री पोखरेलले सातै प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार सरकारले ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यलाई कार्यान्वयनतर्फ लैजान पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो।
‘हामीले पहिलेदेखि नै देखेको सपना ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने हो। त्यस दिशामा हामी एक कदम अगाडि बढेका छौँ,’ मन्त्री पोखरेलले भने।
उनले विद्यालय तहदेखि नै खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले पाठ्यक्रममा खेलकुदलाई समावेश गर्ने योजना पनि अघि बढाइएको बताए। पाठ्यक्रम पुनर्निर्माणको क्रममा खेलकुद क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न खेलाडीहरूलाई समेत कार्यदलमा समावेश गरिएको उनको भनाइ छ।
मन्त्री पोखरेलले विभिन्न प्रदेश तथा जिल्लामा पर्याप्त खेलकुद पूर्वाधार नहुँदा प्रतिभावान् खेलाडी उत्पादन र खेल गतिविधि सञ्चालनमा कठिनाइ भइरहेको उल्लेख गरे। त्यसलाई सम्बोधन गर्न पहिलो चरणमा क्रिकेट रंगशाला, फुटबल रंगशाला र कभर्ड हललाई आधार बनाएर पूर्वाधार निर्माण गर्न लागिएको उनले बताए।
‘सातै प्रदेशमा क्रिकेट रंगशाला, फुटबल रंगशाला र कभर्ड हल निर्माण गर्ने गरी योजना अघि बढाइएको छ। यी पूर्वाधारबाट लगभग सबै खेल सञ्चालन गर्न सकिने व्यवस्था मिलाउने हाम्रो प्रयास हो,’ उनले भने।
सरकारको योजनाअनुसार नयाँ पूर्वाधार निर्माणसँगै विद्यालय तहबाटै खेलकुद गतिविधि विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ। खेलकुदमा स्थानीय तहको सहभागिता बढाउँदै युवा विकास र स्थानीय अर्थतन्त्रसँग पूर्वाधारलाई जोड्ने लक्ष्यसमेत सरकारले राखेको छ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले अत्याधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको साझेदारीले नेपालको खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
यसैबीच, सरकारले चालु आर्थिक वर्षको बजेटमा नयाँ खेलकुद पूर्वाधार निर्माणका साथै विद्यमान संरचनाको अधिकतम उपयोग गर्ने नीति अघि सारेको छ। बजेटमा आवश्यक मर्मतसम्भार, पुनर्निर्माण, स्तरोन्नति तथा सुदृढीकरणका कार्यक्रमसमेत समावेश गरिएको छ।
बजेटअनुसार आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालासहितका पूर्वाधारको स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना छ।
विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार दर्शक क्षमताका इन्डोर बहुउद्देश्यीय स्टेडियम आगामी तीन वर्षभित्र निर्माण गर्ने लक्ष्यसमेत बजेटमा उल्लेख छ।
त्यसैगरी, मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानीको ढाँचा (मोडालिटी) तय गर्ने सरकारको योजना छ।
सरकारले नयाँ पूर्वाधार निर्माण र पुराना संरचनाको स्तरोन्नतिमार्फत खेलाडीलाई अभ्यास तथा प्रतियोगिताका लागि आवश्यक सुविधा उपलब्ध गराउने र खेलकुद क्षेत्रलाई स्थानीय विकाससँग जोड्ने लक्ष्य लिएको छ।