पाकिस्तान। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको मस्जिदमा शुक्रबार आत्मघाती विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार प्रहरी आवासीय परिसरमा रहेको मस्जिदलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काएर विस्फोट गराइएको थियो। विस्फोटपछि सशस्त्र आक्रमणकारी र सुरक्षा निकायबीच गोली हानाहान भएको जनाइएको छ।
उद्धार संस्था रेस्क्यु ११२२ का अनुसार मृतक तथा घाइतेलाई नजिकैका अस्पतालमा पुर्याइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन।