काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा अवैध रूपमा सुन ओसारपसार गरेको आरोपमा ४५ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट कुल एक किलो ६४३ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने नेपाली यात्रुलाई प्रयोग गरी सुन तस्करी भइरहेको सूचनाका आधारमा गरिएको सुरक्षा जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विभिन्न समयमा गरिएको जाँचका क्रममा सुनसहित ४५ जनालाई नियन्त्रणमा लिइएको हो। बरामद सुनको मूल्य करिब एक करोड २५ लाख १८६ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा तस्करीमा संलग्न गिरोहले विदेशबाट फर्किने नेपाली यात्रुलाई निश्चित रकम वा ज्यालाको प्रलोभन देखाएर सुन नेपाल ल्याउन प्रयोग गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ।
यात्रुलाई माध्यम बनाएर सुन ओसारपसार गर्ने गिरोहको गतिविधिमाथि विमानस्थलमा निगरानी थप कडा पारिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
बरामद सुन र पक्राउ परेका व्यक्तिमाथि सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न देखिएकामाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।