काठमाडौँ। २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । बिहीबार जापानको कोमाकीस्थित पार्क अरिनामा भएको समूह ‘ए’को आफ्नो दोस्रो खेलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएपछि दोस्रो चरणमा पुग्न असफल भएको हो ।
इन्डोनेसियाले नेपालमाथि पहिलो सेट २५–१२, दोस्रो २५–२१ र तेस्रो २५–२० ले जित्यो । समूह चरण पार गर्न नेपालका लागि बिहीबारको खेल जित्नैपर्ने अवस्था थियो । तर लगातार दोस्रो खेलमा पराजित भएपछि नेपालको क्वाटरफाइनल यात्रा रोकिएको हो ।
समूह ‘ए’बाट आयोजक जापान र इन्डोनेसियाले क्वाटरफाइनलमा स्थान बनाएका छन् । अब नेपालले प्रतियोगितामा नवौँदेखि १४औँ स्थानका लागि क्लासिफिकेसन खेल खेल्नेछ ।
नेपाल आफ्नो पहिलो खेलमा बुधबार आयोजक जापानसँग पनि ३–० को सोझो सेटमा पराजित भएको थियो ।
प्रतियोगितामा सहभागी १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । स्वर्ण पदकका लागि असोज ६ गते प्रतिस्पर्धा हुनेछ ।