काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराज आमनेसामने हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ ६ः०० बजे सुरु हुनेछ।
एनभिएलको फाइनलमा स्थान बनाउन दुवै टोली जितका लागि मैदानमा उत्रँदैछन्। लिग चरणमा समान पाँच खेल खेलेका काठमाडौँ र कर्णालीले चार खेलमा जित तथा एक खेलमा हार बेहोरेका छन्।
लिग चरणको भेटमा काठमाडौँले कर्णालीलाई ३–२ सेटले पराजित गरेको थियो। सोही प्रदर्शनलाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्य काठमाडौँको छ। यता, कर्णाली भने लिग चरणको हारको बदला लिँदै फाइनलमा स्थान सुरक्षित गर्ने योजनामा छ।
आजको खेल जित्ने टोलीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण बिहीबार नै फाइनलमा प्रवेश गरिसकेको छ।
नेपालमा पुरुष भलिबलको ‘फ्रेन्चाइज’ लिग पहिलोपटक आयोजना गरिएको हो। भदौ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु २० लाख पुरस्कार प्राप्त गर्नेछ।