काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक राजनीति र सांगठनिक गतिविधिभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारलाई अहिले प्राथमिकता दिने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले महाधिवेशन तथा आन्तरिक छलफल पार्टीका नियमित प्रक्रिया भएकाले संकटको समयमा राजनीतिक जोडघटाउभन्दा जनसेवा महत्वपूर्ण रहेको बताए।
बाढीपहिरोबाट प्रभावित धादिङ, रसुवा र नुवाकोटलगायत जिल्लामा कांग्रेसका नेता तथा कार्यकर्ता राहत, उद्धार र प्रभावित नागरिकको सहयोगमा खटिएको उनले जानकारी दिए। स्थलगत रूपमा प्राप्त तथ्य र विवरणका आधारमा पार्टीले आगामी कार्ययोजना तय गरेर कामलाई निरन्तरता दिने थापाले बताए।
पार्टीका नेताहरूसँग भएका भेटघाटलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ हेर्नु स्वाभाविक भए पनि अहिले आफ्नो ध्यान विपद् प्रभावित नागरिकको समस्यामा केन्द्रित रहेको उनले बताए। ‘तर मेरो लागि ती संवादभन्दा अहिले धादिङ, रसुवा र नुवाकोटका पीडित नागरिकको समस्या समाधान र उहाँहरूसँगको संवाद बढी महत्त्वपूर्ण छ,’ थापाले भने।
विपद्का कारण सर्वस्व गुमाएका नागरिकको साथमा रहन यस वर्षका दशैं, तिहारलगायत चाडपर्वमा समेत विश्राम नलिई काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।