काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ।
गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा स्मारक पार्क तथा शालिक र स्तम्भको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा गृहमन्त्री गुरुङले जेनजी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले जेनजी आन्दोलनका क्रममा गरिएका प्रतिबद्धता पूरा गर्ने धारणा व्यक्त गरे।
‘हामीले जे कसम खाएका छौँ, त्यसलाई पूरा गर्छौं,’ गृहमन्त्री गुरुङले भने।
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन सरकार विघटन भएको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि वर्तमान सरकार गठन भएको हो। यसैबीच, सरकारले जेनजी सहिद दिवसका अवसरमा यही भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते जेनजी सहिद दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।