बनेपा (काभ्रे) -भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।
अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्य समस्या तथा आर्थिक भारसमेत व्यहोर्नुपरेको अवस्थालाई ध्यानमा राखी एक वर्षसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो।
अस्पतालका अनुसार उक्त सेवाबाट प्रभावित परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुग्नुका साथै उपचारमा लाग्ने आर्थिक भारसमेत कम गर्न सहयोग पुग्नेछ। निःशुल्क सेवा लिन आवश्यक प्रक्रिया, कागजात तथा अन्य विवरण चाँडै सार्वजनिक गरिने अस्पतालले जनाएको छ।
बाढीपछि प्रभावित समुदायमा विभिन्न स्वास्थ्य समस्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालले आफ्नो क्षमताअनुसार प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन तथा सरोकारवाला निकायसँग सहकार्य गर्ने तयारीसमेत गरेको छ।
अस्पतालले बाढी प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायको स्वास्थ्य उपचार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।