चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ। तुइन खोलामा पहिरो रोकथाम तथा व्यवस्थापनको काम गर्न सवारी आवागमन निश्चित समयका लागि रोक्न लागिएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज जारी गरेको सूचनाअनुसार कृष्णभीरमा सडक मर्मतको काम भइरहेका बेला त्यसको समय सदुपयोग गर्दै तुइन खोला परियोजनाअन्तर्गत माटो कटान तथा पहिरो व्यवस्थापनको काम गरिनेछ।
तुइन खोलामा पटक–पटक पहिरो खस्ने भएकाले सम्भावित रूपमा झर्न सक्ने माथिल्लो भागको माटो तथा ढुंगा पन्छाएर पहिरोको जोखिम न्यूनीकरण गर्न लागिएको हो। कृष्णभीरको सडक मर्मत सम्पन्न भई सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा नआएसम्म तुइन खोलामा उक्त काम जारी रहने जनाइएको छ।
सूचनाअनुसार सडकलाई निश्चित समयमा सवारी आवागमनका लागि खुला गरिनेछ। नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, १०ः३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १ः३० बजेसम्म, ३ः५० बजेदेखि ४ बजेसम्म र साँझ ६ बजेपछि सञ्चालन गरिनेछ।
उल्लिखित समयबाहेक भने तुइन खोला क्षेत्रमा सवारीसाधन रोकेर पहिरो रोकथाम तथा व्यवस्थापनको काम गरिने प्रशासनले जनाएको छ।