रसुवा – भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर भारतीय मूलका चार जना अष्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका छन्। रसुवाको धुञ्चेबाट मानसरोवरतर्फ जाने क्रममा उनीहरू सम्पर्कविहीन भएको बताइएको छ।
सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर रहेका छन्।
भारतको केरला राज्यबाट आफ्ना आफन्तको खोजी गर्दै रसुवा पुगेका रञ्जित श्रीधरणले चारै जना आफन्त सम्पर्कविहीन भएकाले खोजी गरिदिन आग्रह गरेका छन्।
उनका अनुसार हराइरहेका आफन्तको मोबाइलको अन्तिम ‘लोकेसन’ स्याफ्रुबेँसीस्थित रोयल हिमालयन होटल देखिएको थियो। “सम्पर्कविहीन भएका चारै जनाका बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन,” उनले भने, “आफन्तको अवस्थाबारे जानकारी नहुँदा हामी विक्षिप्त भएका छौँ। आ–आफ्नो ठाउँबाट खोजी गरिदिन अनुरोध गर्दछौँ।”
नेपाल टेलिकम रसुवाका प्राविधिक नन्दकुमार कोइरालाले अयर परिवारको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्। उनका अनुसार बाढीपछि सम्पर्कविहीन भएका अयर परिवारका आफन्त रसुवामै आएर खोजी गरिरहेका छन्।
“स्थानीयस्तरमा आवश्यक खोजीका लागि हामीले सहजीकरण गरिरहेका छौँ,” कोइरालाले भने।