ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सलहेशले लगातार दोस्रोपटक उपाधि उचालेको हो।
सलहेशको जितमा फागुराम थारुले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो। खेलको बाँकी समयमा फिदिमले गोल फर्काउन नसकेपछि सलहेश उपाधिको हकदार बनेको हो।
सलहेशले सेमिफाइनलमा भारतको जर्जियन युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यस्तै, फिदिम स्पोर्टिङ क्लबले झापा–११ लाई १–० गोलअन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो।
लाखेजात्रा सञ्चालन समितिको आयोजनामा भएको प्रतियोगितामा भारतको एक टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो।
उपाधि विजेता सलहेशले नगद रु. ७ लाख २ हजार ८३ तथा उपविजेता फिदिमले रु. ३ लाख ५२ हजार ८३ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।