काठमाडौँ ।अविरल वर्षासँगै विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका तथा बागमती प्रदेशका प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो सडक अवस्थाअनुसार पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। गजुरी गाउँपालिका–२ स्थित परेवाभीरमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन्। जवाङखोला र कमेरेभीर क्षेत्रमा पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ। १० टनसम्मका मालवाहक सवारीसाधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइनेछ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालनको अनुमति दिइने जनाइएको छ।
त्यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी सडकअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीले सडकमा क्षति पुर्याएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। रसुवाका अन्य मुख्य सडकसमेत अर्को सूचना जारी नभएसम्म बन्द राखिएको प्रहरीले जनाएको छ।
नुवाकोटको टोखा–छहरे सडकअन्तर्गत घट्टेखोलामा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। सिमटारस्थित पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ।
यसैबीच, काठमाडौँ प्रवेश गर्ने चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो हटाइएपछि काठमाडौँ–धादिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको ट्राफिक प्रहरी वा प्रहरी ‘कन्ट्रोल रुम’मा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिनसमेत अनुरोध गरिएको छ। अवरुद्ध सडक खुलाउन डोजर तथा प्राविधिक टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।