काठमाडौं । नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली तथा विदेशी नागरिकको शव र शरीरका अङ्ग पहिचानका लागि डिएनए ‘प्रोफाइलिङ’ सुरु गरेको छ।
बाढीपछि सम्पर्कविहीन रहेका नागरिकका परिवारबाट डिएनए नमुना सङ्कलन गरी फेला परेका शव तथा शरीरका अङ्गसँग मिलान गरेर पहिचान गर्ने उद्देश्यले अस्पतालले प्रोफाइलिङ सुरु गरेको हो।
अस्पतालका अनुसार आज अपराह्न ५ बजेसम्म सम्पर्कविहीन व्यक्तिका आफन्तबाट ५३९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ।
नेपाल प्रहरी अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीका अनुसार सम्पर्कविहीन आफन्तले आफ्नो परिचय खुल्ने कागजात र दुई प्रति फोटोसहित अस्पतालमा उपस्थित भएर डिएनए नमुना दिन सक्नेछन्। अस्पतालमा उपलब्ध फाराम भर्न नसक्ने व्यक्तिलाई आवश्यक सहजीकरण गरिने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमुना सङ्कलन गर्नेछ।
सङ्कलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा परीक्षणका लागि पठाइनेछ।
यसैबीच, प्रहरी टोलीले बाढी प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव व्यवस्थापन गरिरहेको जनाएको छ। फेला परेको शवलाई सुरक्षित रूपमा झोलामा राखी फोरेन्सिक विशेषज्ञको सहयोगमा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।
सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भनेर शवको तस्बिर तथा उपलब्ध पहिचानसम्बन्धी विवरणसमेत सार्वजनिक गर्ने गरिएको प्रहरीले जनाएको छ। पहिचान खुल्न नसकेका शवलाई छुट्टाछुट्टै सङ्केत वा कोड नम्बर प्रदान गरी फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा र साथमा भेटिएका सामग्रीलगायत विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको छ।
शवको वैज्ञानिक पहिचानका लागि डिएनए नमुना सङ्कलन गरी सुरक्षित राख्ने व्यवस्था गरिएको छ। फेला परेका शव वा शरीरका अङ्गको डिएनए परीक्षणबाट पहिचान गर्न बाबु, आमा, छोरा वा छोरीमध्ये नजिकको रगतको नाता पर्ने एक जनाको नमुना आवश्यक पर्ने प्रहरीले जनाएको छ।
हराइरहेका विदेशी नागरिकको हकमा उनीहरूका विदेशमा रहेका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशमा डिएनए प्रोफाइलिङ गराई त्यसको ‘सफ्ट कपी’ तुलनाका लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको छ।