काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र साहले संसद् र राजनीतिक दललाई बेवास्ता गरेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले सबै पक्षसँग संवाद र सहकार्य गर्नुपर्ने भन्दै उनले वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै दाहालले विपक्षी दलहरूले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदा पनि प्रधानमन्त्रीले परामर्श र संवादमा रुचि नदेखाएको बताए । संसद्मा उपस्थित हुँदा अन्य सदस्यको अस्तित्व स्वीकार नगर्नु लोकतान्त्रिक पद्धतिअनुकूल नभएको उनको भनाइ छ ।
‘प्रधानमन्त्री आउनुहुन्छ र कसैको अनुहार नहेरी जानुहुन्छ, यो कस्तो खालको कार्यशैली हो ? हामी सबैले सहयोग गर्छौं भनिरहेका छौँ, तर प्रधानमन्त्रीले कसैको अनुहारसम्म हेर्न नपर्ने सोच राख्नु उचित होइन । यो तरिकाले अगाडि बढ्न सकिँदैन,’ दाहालले भने ।
प्रधानमन्त्रीले पाएको अवसर ऐतिहासिक भएको उल्लेख गर्दै दाहालले त्यसलाई खेर जान नदिन र सबै पक्षलाई समेटेर जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरे ।