पर्वत। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि पर्वतको फलेवास नगरपालिकाले करिब ३७ लाख रुपैयाँ राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ । बाढीमा ज्यान गुमाएकाहरूप्रति शोक प्रस्ताव पारित गर्दै नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवासुविधाबाट रकम कट्टा गरी राहत कोषमा पठाउने निर्णय गरेको हो ।
भदौ १६ गते बसेको चालु आर्थिक वर्षको तेस्रो कार्यपालिका बैठकले नगरप्रमुखदेखि कर्मचारी र शिक्षकसम्मको पारिश्रमिक कट्टा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख गंगाधर तिवारीले आफ्नो एक महिनाको पारिश्रमिक राहत कोषमा दिने घोषणा गरेका छन् । उपप्रमुख शोभाकुमारी क्षेत्रीले १० हजार रुपैयाँ सहयोग गर्ने भएकी छन् । कार्यपालिका सदस्यको पाँच हजार र वडा सदस्यको दुई हजार रुपैयाँका दरले रकम कट्टा गरिनेछ ।
नगरपालिकाका अनुसार श्रेणीविहीन कर्मचारी तथा स्वास्थ्यकर्मीको दुई दिन, चौथो र पाँचौँ तहका कर्मचारीको पाँच दिन तथा छैटौँ, सातौँ र आठौँ तहका कर्मचारीको सात दिनबराबरको पारिश्रमिक कट्टा गरिनेछ । विद्यालय सहयोगी, सहजकर्ता तथा कर्मचारीको दुई दिन, प्राथमिक र निमाविका विभिन्न श्रेणीका शिक्षकको पाँच दिन तथा प्रावि प्रथम, निमावि द्वितीय र माध्यमिक तहका शिक्षकको सात दिनबराबरको पारिश्रमिक कट्टा गरिनेछ ।
यसरी संकलन हुने करिब ३७ लाख रुपैयाँ भदौ महिनाको पारिश्रमिक तथा सेवासुविधाबाट कट्टा गरी एकमुष्ट प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले बताए ।
नगरप्रमुख तिवारीले यसअघि पनि आफूले पाउने सेवासुविधाको रकम विभिन्न विद्यालयमा अक्षयकोष स्थापना तथा विपन्न नागरिकको सेवामा खर्च गर्दै आएका थिए । यसपटक भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको उनले जनाएका छन् ।
नगरपालिकाले बाढीमा परी मृत्यु भएका फलेवासका स्थायी बासिन्दाका परिवारलाई काजकिरिया खर्चबापत प्रतिमृतक ५० हजार रुपैयाँ दिने निर्णयसमेत गरेको छ । घाइतेको उपचारका लागि आवश्यक खर्चसमेत उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत चापागाईंले बताए ।