काठमाडौं। रसुवाको केरुङमा भोटेकोशी नदी थुनिएको घटनाबारे चीनसँग नियमित संवाद भइरहेको र तत्काल ठूलो जोखिम नरहेको सरकारले जनाएको छ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग भइरहेको संवादबाट तत्काल ठूलो खतराको संकेत नदेखिएको बताए।
केरुङमा नदी थुनिएको स्थानबाट पानी सतहभन्दा माथि ओभरफ्लो हुन थालेपछि सरकारले तल्लो तटीय क्षेत्रका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
‘अहिले बाँध नै फुटेको अवस्था भने होइन,’ पोखरेलले भने, ‘केही साना हिमतालहरू फुटेका कारण विभिन्न स्थानमा लेदोसहितको पानी ओभरफ्लो भएको छ।’
सरकारले चिनियाँ पक्षबाट प्राप्त सूचनाका आधारमा नदीको अवस्था निरन्तर अनुगमन गरिरहेको र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ।