नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले नदीले बगाएर ल्याएका माछा र मासुजन्य पदार्थ सेवन नगर्न नगरवासीलाई अपिल गरेको छ ।
गैँडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक झलकराज पौडेलले बाढीका कारण मृत भेटिएका माछा तथा पशुपन्छीको उपभोग नगर्न सार्वजनिक अपील गरिएको बताए ।
‘बाढीका कारण नदी तथा खोलाहरूमा माछा, पशुपन्छी तथा अन्य जनावरहरू बगाएर ल्याई नदी किनार तथा विभिन्न स्थानमा मृत अवस्थामा थुप्रिएका छन्’, उनले भने, ‘बाढीका कारण मृत पशुपन्छी तथा माछा र बाढीबाट दूषित पानी वा वातावरणको सम्पर्क तथा त्यस्ता वस्तुको उपभोगबाट विभिन्न रोग तथा सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दछौँ ।’
बाढीले बगाएर ल्याएका वा मृत अवस्थामा भेटिएका माछा, पशुपन्छी तथा अन्य जनावरको मासु कुनै पनि अवस्थामा उपभोग नगर्न जनस्वास्थ्य निरीक्षक पौडेलले अपील गरेका छन् ।
‘मृत अवस्थामा भेटिएका माछा तथा पशुपन्छीलाई किनबेच, वितरण वा उपभोगका लागि प्रयोग नगर्नुहोला’, उनले भने, ‘मृत पशुपन्छी तथा माछालाई नाङ्गो हातले नछुनुहोस्, बालबालिका तथा घरपालुवा जनावरलाई त्यस्ता स्थानबाट टाढा राख्नुहोस् ।’
बाढीबाट दूषित भएको वा दूषित हुन सक्ने पानी नपिउन आग्रह गर्दै जनस्वास्थ्य निरीक्षक पौडेलले सम्भव भए पानीलाई उमालेर वा सम्बन्धित निकायले सिफारिस गरेको विधिबाट शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरे ।
बाढीपछि हुने विपदबाट जोगिन बाढीको पानी, फोहर तथा मृत पशुपन्छीको सम्पर्कमा आएपछि साबुनपानीले हात राम्ररी धुन आग्रह गर्दै उनले विशेषगरी खाना खानुअघि तथा खाना तयार गर्नुअघि हात सफा गर्नुपर्ने बताए ।
नदी किनार वा अन्य स्थानमा मृत पशुपन्छी तथा माछा भेटिएमा आफूखुसी व्यवस्थापन नगरी सम्बन्धित वडा कार्यालय वा गैँडाकोट नगरपालिकामा जानकारी गराउन उनले आग्रह गरे ।
‘बाढीपछि ज्वरो, झाडापखाला, बान्ता, पेट दुख्ने, छालामा सङ्क्रमण, आँखा रातो हुने, शरीर दुख्ने वा अन्य असामान्य स्वास्थ्य समस्या देखिन सक्छ’, जनस्वास्थ्य निरीक्षक पौडेलले भने, ‘त्यस्तो समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार गराउनुहोस् ।’