काठमाडौं ।विपद् उद्धार तथा राहतमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीले पाउने दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता बढाइने भएको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढी, पहिरो, आगलागीलगायत विपद्का समयमा ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मीको सुविधा बढाउने विषयमा निर्णय गरेको हो।
प्राधिकरणका अनुसार विपद्का बेला जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीको योगदानको कदर गर्दै उनीहरूलाई थप प्रोत्साहन र सुविधा उपलब्ध गराउने निर्णय गरिएको हो। विपद् व्यवस्थापनका कार्यलाई थप प्रभावकारी, छिटो र परिणाममुखी बनाउन उद्धार टोलीलाई राज्यका तर्फबाट उचित सम्मान तथा प्रोत्साहन आवश्यक रहेको प्राधिकरणले जनाएको छ।
बैठकले सुरक्षाकर्मीको प्रोत्साहन रकम बढाउने विषयमा सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ। त्यसपछि सम्बन्धित सुरक्षा निकायले तालुक मन्त्रालयमा प्रस्ताव पठाउने र सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गर्ने जनाइएको छ।
बैठकमा सुरक्षाकर्मीलाई दैनिक खाना तथा खाजा खर्चबापत रु. १ हजार र एक दिनको तलबको ५० प्रतिशत बराबर रकम प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो।