काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म २८९ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लामा ती शव फेला परेका हुन् ।
प्राधिकरणका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, गोरखामा २०, चितवनमा १०८, तनहुँमा १२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना रहेका छन् ।
प्राधिकरणका अनुसार आज उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन् । ती उडानमार्फत हालसम्म ३५१ जनाको उद्धार गरिएको छ ।
यसैबीच, बाढीपछि ९१० जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवाका १६१ र नुवाकोटका १ जना छन् ।
त्यस्तै, ५१७ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
