काठमाडौँ – बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, उपचार तथा सम्भावित रोगको नियन्त्रणका लागि नेपाल भेटेरिनरी एसोसिएसनले निःशुल्क टेलिपरामर्श सेवा तथा हटलाइन सञ्चालनमा ल्याएको छ।
एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रका पशुपालक किसानले ११५९ मा सम्पर्क गरी पशुपन्छीको स्वास्थ्य अवस्था, उपचार र उद्धारसम्बन्धी प्राविधिक परामर्श निःशुल्क लिन सक्नेछन्।
हटलाइनमार्फत प्राप्त सूचनाका आधारमा प्रभावित क्षेत्रमा खटिएका पशु चिकित्सक तथा उद्धार–उपचार टोलीसँग समन्वय गरी आवश्यकताअनुसार तत्काल टोली परिचालन गरिने एसोसिएसनले जनाएको छ।
यसअघि नै एसोसिएसनले डा. प्रवेश शर्मा, डा. निशान्त शर्मा गेलाल, डा. सुदीप रेग्मी, डा. दिनेश अर्याल र डा. केशव खरेलसहितको चिकित्सक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिसकेको छ। स्वयंसेवकका रूपमा परिचालित हुने भेटेरिनरी चिकित्सकको यातायात, खाना तथा बसोबासको खर्च एसोसिएसनले व्यहोर्ने जनाएको छ।
बाढीपछि पशुपन्छीमा महामारी तथा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै एसोसिएसनले रोग निगरानी तथा रोकथामका लागि पशु सेवा विभागलगायत सरकारी निकायसँग समन्वय गरिरहेको छ।
प्रभावित पशुपालक तथा किसानले आवश्यक सहजीकरणका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् :
निःशुल्क हटलाइन : ११५९
डा. शंकर न्यौपाने, महासचिव : ९८४५४४०४०४
डा. विशाल पोखरेल, सचिव : ९८४३३९७५८७
डा. दिनेश अर्याल, केन्द्रीय सदस्य : ९८४००१७०७६
यसैबीच, पशु सेवा विभागले रसुवा र नुवाकोटमा दुईवटा प्राविधिक टोली परिचालन गरिसकेको छ। कान्तिपुर भेट डिस्ट्रीब्युटर्सले पनि बाढी प्रभावित क्षेत्रमा निःशुल्क औषधि उपलब्ध गराएको जनाएको छ।