काठमाडौँ। रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीपछि नेपालीसहित ३३ देशका ६ सय ४४ पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा १ सय २७ नेपाली र ३२ देशका ५ सय १७ विदेशी पर्यटक छन्।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले टुर एजेन्सीबाट प्राप्त विवरणका आधारमा सम्पर्कविहीन पर्यटकको संख्या ६ सय ४४ पुगेको बताए। उनका अनुसार भारतका १ सय ७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक सम्पर्कविहीन छन्।
‘पछिल्लो जानकारीअनुसार ६ सय ४४ जना हराएका छन्,’ ऐरले भने, ‘हामी ती पर्यटकलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ।’
बोर्डले टुर अपरेटर, नेपाल प्रहरी, पर्यटन विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका निकाय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी खोज तथा उद्धार तीव्र बनाएको छ। तिमुरे र त्यसभन्दा माथिल्लो क्षेत्रमा रहेका पर्यटक अझै सम्पर्कमा नआएको ऐरले बताए।
टुर अपरेटर तथा पर्यटन क्षेत्रमा संलग्न निजी क्षेत्रसमेत खोज तथा उद्धारमा परिचालित छन्। बोर्डले सम्पर्कमा आएका र सम्पर्कविहीन पर्यटकको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरिरहेको जनाएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्वीरको अध्ययनका आधारमा बाढीको मुख्य कारण नेपाल–चीन सीमा क्षेत्रमा गएको हिमचट्टानसहितको पहिरो रहेको जनाएको छ। प्राधिकरणका अनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा हिमचट्टानसहितको पहिरो गएपछि ल्हेन्दे खोलामा गेग्य्रानसहित बाढी आएको र टिमुरे हुँदै त्रिशूलीमा प्रवेश गरेको हो।