नुवाकोट। प्रधानमन्त्री बालेन्द्र साहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्दै विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र अवरुद्ध पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री साह बिहीवार बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए। प्रभावित बस्तीको अवस्था र बाढीबाट भएको भौतिक क्षतिको निरीक्षणपछि उनले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, उद्धार तथा पुनःस्थापनाबारे छलफल गरेका थिए।
निरीक्षणका क्रममा प्रधानमन्त्री साहले बाढीबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनःस्थापनाका कामलाई तीव्रता दिन सम्बद्ध निकायलाई निर्देशन दिएका थिए।
रसुवाको भोटेकोशीमा आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्याएपछि प्रधानमन्त्री साहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठकमार्फत सम्बन्धित निकायलाई निर्देशन दिँदै आएका थिए।
स्थलगत निरीक्षण र आवश्यक निर्देशनपछि प्रधानमन्त्री साह बिहीवार नै काठमाडौं फर्किएका छन्।