काठमाडौं, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लाबाट २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव भेटिएको छ। त्यस्तै, धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनासहित १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
गोरखामा एक महिला, ४ पुरुष, एक बालक तथा पहिचान नखुलेका १० जनाको शव भेटिएको छ। चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जनाको शव फेला परेको छ।
यसैगरी तनहुँमा ३ पुरुष, एक बालिका र एक बालकको शव भेटिएको छ भने नवलपरासी पूर्वमा ८ पुरुष र ३ बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
६३ जना अस्पतालमा उपचाररत
बाढीमा परी घाइते भएका ६३ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचाररत घाइतेमध्ये महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना रहेका छन्।
त्यस्तै, नर्भिक अस्पतालमा ३ जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
२८ प्रहरी अझै सम्पर्कविहीन
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत २८ जना प्रहरी अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५ तथा वेत्रावती र हाकुबाट एक–एक जना प्रहरी रहेका छन्।