काठमाडौं। नेपाली कांग्रेसले देशका विभिन्न भागमा आएको बाढी तथा प्राकृतिक विपद्बाट उत्पन्न संकटमा उद्धार र राहतलाई प्राथमिकता दिन आफ्ना सबै पूर्वनिर्धारित कार्यक्रम एक साताका लागि स्थगित गरेको छ। पार्टीले सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र सुरक्षा निकायलाई एकताबद्ध भएर विपद् व्यवस्थापनमा जुट्न आह्वान गरेको छ।
बुधवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले विपद् प्रभावित क्षेत्रमा उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकार तथा मातहतका निकायलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले विशेषगरी रसुवालगायत क्षेत्रमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति पार्टीले दुःख व्यक्त गरेको जानकारी दिए।
कांग्रेसका अनुसार बाढीबाट अर्बौं रुपैयाँबराबरका भौतिक संरचनामा क्षति पुगेको छ भने धेरै नागरिक सम्पर्कविहीन छन्। संकटको यस घडीमा सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा सुरक्षा निकायलाई समन्वय गरेर उद्धारमा जुट्न उसले आह्वान गरेको छ।
प्रभावित क्षेत्रमा समन्वय र सहजीकरणका लागि कांग्रेसले रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा ‘विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ। समितिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका केन्द्रीय सदस्य, जिल्ला सभापति, बागमती प्रदेशका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधि छन्। मानबहादुर थापालाई सदस्यसचिव तोकिएको छ।
बैठकले पार्टीका सबै तहका संरचना, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थालाई प्रभावित क्षेत्रमा खटिन निर्देशन दिएको छ। नागरिकको ज्यान जोगाउने, घाइतेको उपचार तथा बेपत्ताको खोजीमा सक्रिय भूमिका खेल्न पार्टीले आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ। सूचना आदानप्रदान तथा सहयोगका लागि केन्द्रदेखि जिल्ला तहसम्म ‘हेल्प डेस्क’ स्थापना गर्ने निर्णय पनि भएको छ।
राष्ट्रिय शोक र संकटको यस घडीमा भदौ ११ गतेका लागि तय गरिएको ‘महिला उद्यमशीलता सम्मेलन’ र ‘ग्रिन टी विचार श्रृङ्खला’ लगायत सबै पूर्वनिर्धारित कार्यक्रम एक साताका लागि स्थगित गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सरकारी स्रोत–साधनको अधिकतम परिचालन गरी नागरिकको जिउधनको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।