काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेकपा एमालेले आफ्ना नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई तत्काल उद्धार तथा राहतमा जुट्न निर्देशन दिएको छ। पार्टीले बेपत्ताको खोजी, जोखिममा रहेका नागरिकको उद्धार र घाइतेको निःशुल्क उपचार तत्काल सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले बाढीबाट भएको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्धार तथा राहतमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराएको हो।
चीनको स्वायत्त क्षेत्र तिब्बत (सिजाङ) तर्फबाट बुधवार बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न बस्तीमा क्षति पुर्याएको एमालेले जनाएको छ। रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती र त्रिशूलीलगायत क्षेत्र प्रभावित भएका छन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बाढीपछि महिला, बालबालिका, पर्यटक, सुरक्षाकर्मी तथा कर्मचारीसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। टिमुरे बजारसहितका बस्तीमा घर तथा पसल, भन्सार कार्यालय, प्रहरी चौकी, दूरसञ्चार टावर, सडक, पुल, जलविद्युत् आयोजना र कृषि क्षेत्रमा ठूलो क्षति पुगेको उनले बताए।
बैठकले मानवीय तथा भौतिक क्षतिको विवरण तत्काल संकलन गरी तत्कालीन तथा दीर्घकालीन राहत प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले उद्धार र राहतमा कुनै ढिलाइ नगर्न पनि एमालेले आग्रह गरेको छ।
एमालेले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ। संघ, प्रदेश र स्थानीय सरकारसँगै राजनीतिक दल, नागरिक समाज तथा सामाजिक संघसंस्थालाई उद्धार र राहतमा समन्वय गरेर जुट्न पनि उसले अपिल गरेको छ।
एमालेका नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिइएको आचार्यले बताए।