काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपहिरो प्रभावित नागरिकको ज्यान जोगाउन राज्यको सम्पूर्ण सामर्थ्य उद्धार र राहतमा परिचालन गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै लामिछानेले त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संकटको यस घडीमा सरकार र रास्वपा प्रभावित नागरिकको साथमा रहेको बताए।
बाढीको जानकारी पाएलगत्तै प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी संयन्त्रसँग निरन्तर समन्वय र छलफल गरिरहेको उनले जानकारी दिए। नागरिकको ज्यान जोगाउनु अहिलेको पहिलो प्राथमिकता भएको भन्दै उनले उद्धार र राहतका लागि उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए।
‘नागरिकको ज्यान बचाउनु अहिलेको पहिलो प्राथमिकता हो र सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य उद्धार तथा राहतमा लगाउनेछ भन्नेमा म प्रतिबद्ध छु,’ लामिछानेले भने।
उनले विपद्को समयमा सत्ता र प्रतिपक्षको घेराभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताए। संकटका बेला सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएर विपक्षी दलहरूले उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको भन्दै उनले धन्यवाद दिए।
लामिछानेले रसुवा र धादिङका नदीतटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन, सुरक्षित स्थानमा जान र सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गरे। चितवन, नवलपरासीलगायत तल्लो तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।
प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति तथा आवश्यक स्रोत–साधन तत्काल परिचालन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।