काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीका कारण १२ वटा जलविद्युत् तथा सोलार आयोजनामा क्षति पुगेको छ । बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र एउटा सोलार आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बाढीबाट ६ वटा जलविद्युत् आयोजना र एउटा सोलार आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ भने अन्य आयोजनाबाट उत्पादित विद्युत् प्रसारण प्रणालीमा जोडिन सकेको छैन ।
बाढीबाट १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४.८ मेगावाटको अपर साञ्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिशूली–३ ए, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट तथा २५ मेगावाट क्षमताको सोलार प्रणाली प्रभावित भएका छन् ।
यी आयोजनामा क्षति तथा विद्युत् विच्छेद हुँदा कुल ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको प्रवक्ता ढकालले जानकारी दिए ।
बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुर्याएको प्राधिकरणले जनाएको छ ।