काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विपद्पछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै राईले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माण सावधानीपूर्वक अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। विपद्का बेला छिमेकी मुलुकबीच सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए।
चीनबाट आएको बाढी भारततर्फ समेत जाने भएकाले नेपालले भारतलाई समयमै सूचना दिएको वा नदिएको विषय महत्त्वपूर्ण हुने राईले बताए। ‘यो सूचना आदानप्रदान ठूलो कुरा हो,’ उनले भने।
राईले सामाजिक सञ्जालमा आएका सबै सूचना सत्य नहुने भन्दै आधिकारिक सूचना र तथ्यका आधारमा विपद् व्यवस्थापनका संयन्त्र परिचालन गर्नुपर्ने बताए। चीनसँग पनि विपद्सम्बन्धी सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
उनले उद्धारका क्रममा विशेष सावधानी अपनाउन सरकारलाई आग्रह गर्दै विपद्को सामना गर्न राष्ट्रिय एकता आवश्यक रहेको बताए। ‘यतिबेला सत्तापक्ष र प्रतिपक्ष भन्ने कुरा हुँदैन । हामी सबै एउटै टिम हो, वान टिम, वान नेसन,’ उनले भने।