काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल खोज तथा उद्धारलाई पहिलो प्राथमिकता दिन सरकारसँग माग गरेको छ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले बाढीबाट रसुवाका दर्जनौँ बस्ती प्रभावित हुनुका साथै प्रहरी र जलविद्युत् आयोजनामा कार्यरत मजदुरसमेत सम्पर्कविहीन भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
‘यस्तो विपत्तीको समयमा सरकार चनाखो भएर सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको उद्धार हो,’ केसीले भने।
उनले विपद्को सामना गर्न सबै राजनीतिक दल, स्थानीय तह तथा गैरसरकारी संस्थालाई विश्वासमा लिएर उपलब्ध सबै संयन्त्र परिचालन गर्न सरकारलाई आग्रह गरे। ‘यो कठिन परिस्थितिमा बाढीपीडितको पक्षमा सरकार, राजनीतिक दल र समाज छ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।
केसीले रसुवामा ठूलो जनधनको क्षति भएको र धेरै मानिस सम्पर्कविहीन रहेको बताए। त्रिशूली ‘ए’ र त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत मजदुरसमेत सम्पर्कविहीन भएको जानकारी आएको उनले बताए।
उनका अनुसार नवलपुरमा १२ भन्दा बढी पक्की पुल ध्वस्त भएका छन् भने धादिङबेँसी जाने पक्की पुलसमेत क्षतिग्रस्त भएको छ। नुवाकोटका देविघाट र त्रिशूली जलविद्युत् आयोजना तथा त्रिशूली बजारमा समेत बाढीले क्षति पुर्याएको उनले बताए।
विपद्को पूर्वतयारीमा सरकारले विगतमा नै पर्याप्त ध्यान दिनुपर्ने आफूले हिमताल तथा बाढीको जोखिमसम्बन्धी विभिन्न अध्ययन प्रतिवेदनका आधारमा आग्रह गर्दै आएको स्मरण गर्दै केसीले अहिले भने तत्काल उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताए।
बुधवार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, धादिङलगायत जिल्लामा ठूलो क्षति पुर्याएको छ।